Friday, May 17, 2002

साइवर सञ्जालमा नेपाल

इन्टरनेटमा नेपालसम्बन्धी तात्तातो समाचार चाहिँदा धेरैको रोजाइ nepalnews.com वा kantipuronline.com हुने गर्छ । तर सामयिक समाचारसँगै नेपालसम्बन्धी सम्पूर्ण समाचार चाहियो भने ? newslook.com र nepalresearch.com यसको उपयुक्त विकल्प हुन सक्छन् । माओवादी गतिविधिदेखि काठमाडौँको राजनीतिसम्म, अर्थतन्त्रको विश्लेषणदेखि खेलकुदसम्म; हरेक विषयमा पाएसम्मका जानकारी छन् यी वेबसाइटमा ।

newslook.com ले आफ्नो साइटका बारेमा भन्ने गरेको छः वन स्टप साइट फर नेपाल वेबन्युज । किन त्यसो भनिएको त, जान्नका लागि एकपटक यो ‘न्युज पोर्टल’ हेरे पुग्छ । नेपाल र नेपालीका समाचार विश्वका कुनै पनि अखबार÷पत्रिका आदिमा प्रकाशित भएको छ भने त्यसबारे जानकारी पाइन्छ, यस साइटमा । नेपाल र नेपालीका बारेमा स्वदेशी–विदेशी सञ्चारमाध्यममा आएका खबरहरू यसको मुख्य पृष्ठमा हरेक दिन अपडेट गरिएको हुन्छ ।

वास्तवमा न्युजलुकम्याग ‘न्यूज पोर्टल’ मात्र होइन, सूचना र विश्लेषणको भण्डार पनि हो । राजदरबार हत्याकाण्ड वा रितिक रोशन प्रकरणको साङ्गोपाङ्ग विवरण चाहियो ? यो साइटमा नेपालमा घटेका प्रमुख घटनाहरूको छुट्टै लिङ्क राखिएको छ । सङ्कटकाल, भुटानी शरणार्थी, कमैया मुक्ति, भर्खरै भएका माओवादी हमला आदिका बारेमा बेग्लाबेग्लै लिङ्क छ । नेपालका माओवादीसम्बन्धी जे जति वेबसाइटहरू छन्, सबैजसोमा पुग्न सकिन्छ न्युजलुकम्याग बाट । यो वेबसाइटको अर्को विशेषता एपी, एएफपी, युपीआई, रोयटर, युएस न्युजवायर आदि विश्व प्रसिद्ध समाचार संस्थाका वेबसाइटमा सोझ्ै गएर ताजा समाचारहरू हेर्न सकिन्छ ।

nepalresearch.com अर्को त्यस्तै वेबसाइट हो, जहाँ नेपाल र नेपाली समाजका बारेमा प्रशस्त जानकारी राखिएको छ । यो साइटमा नेपालको संस्कृति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, मानव अधिकार, इतिहास, कानून, मिडिया, समाज, राजनीति, वातावरण, विकास निर्माण आदि शीर्षक अन्तर्गत नेपाली पत्रपत्रिकामा छापिएका समाचारहरू सङ्ग्रहीत छन् । यसमा नेपाली–अङ्ग्रेजी र नेपाली–जर्मन शब्दकोश पनि छ । nepalresearch.com जर्मनीमा बस्ने लाक्पा डोमा शेर्पा र उनका पति कार्ल हेन्ज क्रेमरले सञ्चालन गरेका हुन् । तर newslook.com चाहिँ कसले चलाएका हुन्, थाहा छैन । किन हो, त्यसका सञ्चालकहरूले आफ्नो परिचय पर्दाभित्रै राख्न चाहेका छन् ।

"साइबर संजालमा नेपाल", हिमाल खबरपत्रिका, १-१५ जेष्ठ २०५९ (१५-३० मे २००२).