Monday, July 9, 2007

"महिलाको रूपरङमा बढ्तै चासो दिइन्छ": किरण क्षेत्री

नेपाली मूलकी अमेरिकी  किरण क्षेत्री, ३२, अमेरिकाको समाचारमूलक टेलिभिजन जगत्को एक चर्चित नाम हो । गत वैशाखदेखि सीएनएन टेलिभिजनको 'अमेरिकन मर्निङ्' कार्यक्रमकी सह-प्रस् तोता रहेकी क्षेत्री त्यसअघि फक्स न्युज मा काम गर्थिन् । प्रस्तुत छ, अमेरिकामै बस्ने अर्का नेपाली पत्रकार  धर्मानन्द अधिकारी ले उनीसँग लिएको अन्तर्वार्ता :

फक्स न्युज छाडेर सीएनएन प्रवेश गर्नुभयो, कस् तो लाग्दैछ ?
सीएनएन को राम्रो पक्ष के भने यसको विश्वव्यापी पहुँच छ । हामी इरानबारे समाचार प्रसारण गर्ने र अन्तर्वार्ता लिने एक मात्र पश्चिमा सञ्चारमाध्यम भयौँ । बग्दादबाट हामीले स्थलगत र 'रियल टाइम' समाचार प्रसारण गर्न सक्यौँ । हाम्रो कार्यक्रम 'अमेरिकन मर्निङ्' हेर्ने दर्शकले समाचारको साङ्गोपाङ्गो प्रस्तुति अर्थात् संसारभरि भइरहेका महत्त्वपूर्ण घटनाक्रमको सम्पूर्ण विवरण पाउनेछन् । यस्तो महत्त्वपूर्ण काममा सहभागी हुन पाउनु नै मेरा लागि गौरवको विषय हो ।

तपाईंलाई हम्मेसी कसैले दक्षिण एसियाली भन्दैन, जबसम्म तपाईंबारे कसैले सोधीखोजी गर्दैन । अमेरि की टेलिभिजनमा प्रमुख कार्यक्रम चलाइरहेका कमै मात्र दक्षिण एसियालीमध्येको हुनुले तपाइर्ंका लागि के माने राख्छ ?
म यसलाई अलिक साँघुरो व्याख्या गर्न रुचाउँछु  । म आधा नेपाली हुँ, जुन मेरो पुख्र्यौली हो । यसप्रति गर्व गर्दै म हुर्कें, बढेँ । तर, यो मैले धेरै सोच्ने कुरा पनि होइन  । किनभने, यो मेरो जीवनको एउटा पाटो हो, जुन परिवार र बुबासँग जोडिएको छ । मेरो उमेरका धेरै कजिन -काका-मामाका छोराछोरी) अहिले अमेरिकामा छन् । कोही पढ्दैछन् त कोही जागिर खाँदै । यो हाम्रो संस्कृतिको एउटा हिस्सा पनि हो । र, मैले दुवैतिर हात हाल्दै आएकी छु ।

हो, जब मानिसहरू मलाई भेट्छन्, उनीहरू 'किरण दक्षिण एसियाली हुनुपर्छ' वा 'किरण नेपाली हो' भनेर भन्दैनन्  । तर, कसैले मलाई राम्रोसँग बुझ्यो र केही समय मेरो परिवारसँग बितायो भने थाहा हुनेछ, नेपालसँग जोडिनुले ममाथि के-कस्तो प्रभाव पारेको छ ।

नेपालसँग तपाईंको सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ ?
मेरो बुबा नेपाली हुनुहुन्छ । बुबापट्टकिा धेरै नातेदारहरूको मकहाँ आवतजावत छ । मैले अघि भनेजस्तै तीमध्ये धेरै अमेरिकामै पढिरहेका छन् । मेरा काकाहरू पनि यहीँ हुनुहुन्छ  । मैले हालै मात्र मेरो एक कजनलाई न्युयोर्कमा भेटेँ । मैले उनलाई पछिल्लोपटक आफू १३ वर्षकी छँदा नेपालमै भेटेकी थिएँ ।

आफ्नो परिवारका सदस्यसँग भेटघाट गर्न पाउनु अत्यन्तै सुखद कुरा हो । म नेपाल जाने विचारमा छु । र, सँगै मेरी १५ महिनाकी छोरीलाई समेत लैजाने विचारमा छु ताकि ठूली भएपछि उसले पनि मैलेजस्तै बाल्यकालका केही मीठा सम्झनाहरू सँगालोस्  । म पहिलोपल्ट नेपाल जाँदा सात वर्षकी थिएँ । त्यतिखेरका मेरा सम्झना अझै ताजै छन् । जब म १३ वर्षकी हँुदा फेरि नेपाल गएँ, त्यतिबेला नेपाल एकदमै फरक पाएँ । अब फेरि जाँदा अवश्य फरक पाउँछु होला ।

यदि तपाइर्ंले नेपाल वा दक्षिण एसिया पुगेर रिपोर्टिङ्् गर्ने मौका पाउनुभयो भने आफ्नो कार्यक्रममा कस्ता सामग्री प्रस्तुत गर्नुहुन्छ ?
एउटा विषय नेपालको प्रजातन्त्रको बाटोमा हिँड्ने प्रयासबारे हुनसक्छ । संसद्मा भइर हेका काम-कारबाही र पहिलोपटक हुनलागेको संविधानसभाको चुनावका विषयमा हुनसक्छ । निश्चय नै हामीले माओवादीसम्बद्ध परिस्थिति र कठिनाइहरूमाथि ध्यान पुर्‍याइरहेका छौँ । मेरो बुबाले माओवादीको त्रासका कारण अमेरिकामा शरण लिन चाहने धेरै नेपालीका लागि अदालतमा दोभाषेको काम गर्नुभयो । माओवादीका कारण अमेरिकामा शरणका लागि आवेदन दिएकाहरूका बारेमा कुनै कार्यक्रम बनाउँदा उपयुक्त हुन्छ, जसबाट नेपालमा के भइरहेको छ भन्ने कुरा यहाँका मानिसहरूले बुझून् । चुनावका बारेमा त कार्टर सेन्टरलगायत सबैले काम गरिरहेकै छन् । त्यस्तै, शान्तिको सम्भावना र राजनीतिक सम्झौताबारे पनि कार्यक्रम बनाउन सकिन्छ ।

तपाईंकी आमाचाहिँ कहाँकी हुनुहुन्छ ?
मेरो मावलपट्टकिो हजुरबुबा युक्रेनी हुनुहुन्थ्यो  । त्यसमा पनि डच र जर्मनको मिश्रण थियो । तर, मेरो आमाको हजुरबुबा-हजुरआमा युक्रेनबाट अमेरिका बसाइ सर्नेहरूको पहिलो पुस्तामा पर्नुहुन्छ  । उहाँहरू अमेरिकाको पेन्सिल्भानिया आउनुभयो । उहाँहरूका नौ सन्तान थिए । तीमध्ये मेरो हजुर आमा सबैभन्दा जेठी हुनुहुन्थ्यो  । उहाँ हुर्किनुभएको परिवारले युक्रेनी संस्कारलाई बचाइराखेको थियो । उहाँका बुबाआमाले अलिअलि मात्र अङ्ग्रेजी बोल्नुहुन्थ्यो  । उहाँहरूका बच्चाहरू नै अमेरिकामा हुर्किएको पहिलो पुस्ता थियो  ।

टेलिभिजन समाचारवाचकको शारीरिक रूपरङबारे तपाईंको के विचार छ ? म्याक्सिम पत्रिकाले त तपाईंलाई विश्वकै तेस्रो सेक्सी समाचार प्रस्तोता भनेको छ नि ?
-हाँस्दै) म त्यस्ता कुरालाई धेरै महत्त्व दिन्न र गम्भीरताका साथ लिन्न पनि । टेलिभिजनमा मानिसहरूले कसै-कसैको रूपरङमा निकै चासो राख्छन् । महिलाको रूपरङमा कहिलेकाहीँ बढ्तै चासो दिइन्छ, पुरुष समाचार प्रस्तोताभन्दा । तर, म त्यसलाई त्यति महत्त्व दिन्नँ ।

तपाईंको बुबा होम क्षेत्रीले केही समय भ्वाइस अफ अमेरिका मा काम गर्नुभएको थियो । तपाइर्ंको ँकरि  अर’ मा त्यसले कस्तो प्रभाव पारेको छ ?
मैले गर्न चाहेको कामप्रति बुबाको हमेसा सहयोग रहन्थ्यो । मलाई सम्झना छ, विद्यालयमा छँदा बुबाले सोध्नुभएको थियो, "तिमी साँच्चिकै टेलिभिजन पत्रकार बन्न चाहन्छौ ?" त्यसपछि उहाँले महसुस गर्नुभयो, म टेलिभिजनमा काम गर्न कति मरिमेट्छु भन्ने । पेन्सिल्भानियाको एक व्यापारिक टेलिभिजनको कार्यालयसम्म गाडीमा पुर्‍याइदिएर मेरो बुबाआमाले मेरो पहिलो जागिरमा सहयोग गर्नुभयो । त्यस्तै, मैले क्यालिफोर्नियामा काम गर्दासमेत उहाँहरूको सहयोग जारी र ह् यो । बुबा-आमा दुवै जना मेरो प्रगतिदेखि गौरवान्वित हुनुहुन्छ । मैले सीएनएन मा काम गर्न थाल्नुलाई उहाँहरू आफ्नो सपना साकार भएको मान्नुहुन्छ ।

तपाईंका लागि सबभन्दा चुनौतीपूर्ण र रमाइला काम कुन-कुन थिए ?
कुनैबेला जब मानिसहरूले दुःख पाइरहेका हुन्छन् तर हामी उनीहरूको सहयोगका लागि केही गर्न सक्दैनौँ, तब चुनौतीपूर्ण लाग्छ । उनीहरूका कथा प्रस्तुत गरेर अरू मानिसमा उनीहरूप्रति सहानुभूति जगाउन सकिन्छ भन्ने आशा गर्छौं । 'सेप्टेम्बर ११' को हमलापछिको मेरो 'एसाइनमेन्ट' सो हमलाबाट पीडित भएकाको परिवारलाई भेट्नु थियो । हामी प्रत्येक दिन उनीहरूलाई भेट्थ्यौँ ।
कोही आफन्त जीवित फेला पर्ला कि भनी परिवारका सदस्यहरू उनीहरूका तस्बिर बोकेर हिँड्थे । यो अत्यन्तै गाह्रो समय थियो । भर्जिनिया विश्वविद्यालयमा भएको गोली प्रहार अर्को उदाहरण हो । आफन्त गुमाएका थुप्रै परिवारसँग मैले अन्तर्वार्ता लिएँ । त्यतिखेर म उनीहरूको पीडालाई आत्मसात् गर्ने कोसिस गर्थें र आफैँलाई भन्थेँ, मेरो बुबालाई त्यसो भइदिएको भए ! आँखैअगाडि दृश्यहरू प्रकट हुँदा झनै गाह्रो हुन्थ्यो ।

टीभीमा काम गर्न चाहने युवाहरूलाई के सुझाव दिनुहुन्छ ?
तपाईं अध्ययनशील र जिज्ञासु हुनुपर्छ । प्रशिक्षण लिनु वा अरूबाट सिक्नु नै सबभन्दा महत्त्वपूर्ण कुरा हो । यदि कोही मसँग सिक्न चाहन्छ भने मलाई पछ्याऊ भन्छु । युवाहरूले मसँग सुझाव मागे भने म सधैँ सहयोग गर्न चाहन्छु । किनभने, मलाई पनि सहयोग गर्ने मान्छेहरू थिए । कसैले पनि एक्लै गर्न सक्दैन । कसैको निर्देशनबिना केही गर्न सकिन्न । र, त्यसबेला दिइएको निर्देशनले मेरो जीवनमा पनि काम गर्‍यो । यो कुरा म सधैँ सम्झन्छु र अरूलाई पनि बाँड्न चाहन्छु ।

Nepal Magazine, 9 July 2007.