Monday, January 21, 2013

शिक्षा : एउटा कक्षा, दुई शिक्षक - कान्तिपुर

 - दिनेश रेग्मी
काठमाडौ, माघ ५ - एउटा कक्षा कोठा, दुईजना शिक्षक अनि अलग-अलग कुर्सीमा विद्यार्थीहरू । ह्वाइटबोर्ड, बोर्ड मार्कर, ल्यापटप र प्रोजेक्टरको प्रयोग गर्दै कक्षामा अध्यापन । एउटा शिक्षक लेक्चर दिन्छन्, विद्यार्थीसँग छलफल गर्छन् । अर्का शिक्षक घरी प्रोजेक्टरका दृश्य बदल्छन् त घरी बोर्डमा बुँदा टिपोट गर्छन् । अध्ययन, अध्यापनको विषय छ, 'रिभ्यु जर्नालिजम् ।' काठमाडौं बानेश्वर हाइटको एउटा कलेजमा अंग्रेजी विषयक एमफिल कक्षाको दृश्य हो यो ।

आफू र विद्यार्थीलाई पढाइमा सजिलो बनाउन अमेरिकामा अध्यापन गरेर फर्केका सहायक प्राध्यापक धर्मानन्द अधिकारीले आफूले देखे, गरेको यो विधि प्रयोग गरेका हुन् । लेक्चर दिने मुख्य शिक्षक अधिकारी स्वयं र सहायक हुन् मोइन उद्दिन । उद्दिन खासमा शिक्षक नभएर अर्कै कलेजमा बीबीएसका विद्यार्थी हुन्, जो अधिकारीको शिक्षण सहायक भएका छन् ।

'कक्षालाई व्यवस्थित गर्न, प्रशासनिक खालका काम गर्न, शिक्षकले दिएका सामग्री फोटोकपी, इमेल गर्न, रिसिभ गर्न शिक्षण सहयोगी धेरै आवश्यक हुन्छ,' शिक्षण सहायकको रूपमा आफैंले अमेरिकामा अनुभव लिएका अधिकारी भन्छन्, 'शिक्षण सहायक मुख्य शिक्षकको अफिसजस्तै हो ।'

नेपालमा कतिपय शिक्षक कतिखेर कक्षामा आउँछन्, जान्छन्, असाइन के दिन्छन्, विद्यार्थीका सामग्री कसरी संकलन गर्छन्, हेर्छन्, बुझाउँछन्, व्यवस्थित विधि छैन । 'यहाँ त शिक्षक आए/नआएको सोध्ने ठाउँ पनि छैन- कसलाई सोध्ने ?' शिक्षण सहायकको आवश्यकता औल्याउँँदै अधिकारी भन्छन्, 'कम्तीमा एउटा शिक्षण सहायक हुने भने उसले ती कुराहरूलाई व्यवस्थित गर्न सक्छ नि !'

शिक्षण सहायक हुन निश्चित योग्यता, तालिम र गाइड लाइन्सको उत्तिकै जरुरी हुन्छ, जुन अहिले पूरा भएको छैन । कुनै बेला शिक्षक अनुपस्थित हुँदा उनको खाँचो पूरा गर्न सहयोग सिद्ध हुनुपर्छ- शिक्षण सहायक । विषय मिल्दो शिक्षण सहायक र सहायकलाई पारिश्रमिकको पनि व्यवस्था हुनुपर्छ । 'सम्भवतः नेपालमा यो पहिलो प्रयोग होला,' अधिकारी भन्छन्, 'मैले त यो कन्सेप्ट उपयोगी छ भनेर व्यक्तिगत प्रयासमा राखेको हुँ, यसलाई व्यवस्थित बनाउन कजेल, विश्वविद्यालयहरूले सोच्नुपर्छ ।'

फुलब्राइट स्कलरसिप पाएर अमेरिकाको मिजोरी स्कुल अफ जर्नालिजम्, जुन विश्वको पुरानो पत्रकारिता स्कुल हो, मा पुग्दा अधिकारीले शिक्षण सहायक देखे, भोगे । आफूले पीएचडी गर्दा टिचिङ असिस्टेन्सिप पाए । टिचिङ इन्स्ट्रक्टर पद पाएका उनले मास्टरका विद्यार्थीलाई पढाउन थाले । पीएचडी सकेपछि ४ वर्ष जोर्जा साउदर्न युनिभर्सिटीमा पत्रकारिता पढाए, जहाँ उनले शिक्षण सहायक राख्न पाए । उनका शिक्षण सहायक उद्यनि र उनको भेट लेख रचनाले जुराएको थियो । म्यान्मार बोर्डर नजिक पूर्वोत्तर भारतको मणिपुरका जन्मे हुर्केका ताप्लेजुङका अधिकारी एसएलसी दिन नेपाल आए । त्यसपछि उनले नेपालमै पढे । आरआर क्याम्पसबाट अंग्रेजीमा एमए गरेका उनी अमेरिका जानुअघि साधना मासिकका सम्पादक थिए । अमेरिकाबाट नेपाल फर्केपछि उनले पि|mलान्सरको रूपमा लेख्दै आएका छन् । उनको लेख पढ्ने रहेछन्- काठमाडौं घट्टेकुलो निवासी उद्दिनले । लेखमा टिप्पणी गर्दै फेसबुकमा अधिकारीसँग उनको भेट भयो ।

'मेरो पत्रकारिताप्रतिको रुचि, अंग्रेजी भाषाको ज्ञान र चाहना बुझेर होला सर -अधिकारी) सँगै भएर काम गर्न पाएको छु,' उद्दिन भन्छन्, 'मेरो लागि यो नितान्त नयाँ अनुभव हो, जसबाट मैले धेरै सिक्न पाएको छु ।' उनले अधिकारीलाई विद्यार्थीलाई दिने असाइन कम्पाइल गरेर विद्यार्थीलाई इमेल गर्छन्, विद्यार्थीको इमेल रिसिभ गरेर अधिकारीलाई दिन्छन् । कक्षामा प्रोजेक्ट मिलाउनेजस्ता कामहरू गर्छन् ।

पारिश्रमिक नि ? शिक्षक अधिकारी भन्छन्, 'म उनलाई लेखनमा सहयोग गर्छु, उनी मलाई शिक्षणमा ।' हो, पारिश्रमिक दिने गरी राख्नुपर्छ, कलेजहरूले यसरी राख्ने हो भने एउटा विद्यार्थीले सिक्ने मौका र पारिश्रमिक पाउँछन् ।    उनको कक्षाका एमफिलका कतिपय विद्यार्थी स्वयं कलेजमा अध्यापकहरू छन् । उनीहरूलाई पनि यो विधि नौलो र उपयोगी लागेको छ । शिक्षकलाई बढी उपयोगी हुने उनीहरूको धारणा छ ।

'मैले पहिलोपटक शिक्षण सहायक देख्दै छु,' युनिभर्सल कलेजका अध्यापक रोहित ढुंगेल सुनाउँछन्, 'सम्बन्धित विषय र शैक्षिक लेभल मिल्ने हो भने शिक्षण सहायक उपयोगी हुन्छ ।' हप्ताको एक दिन दुई घन्टा हुने अधिकारीको कक्षामा उद्दिन ४ महिना -१६ वटा कक्षामा) सहभागी भएका छन् । एमफिल विद्यार्थी अञ्जु गौतम भन्छिन्, 'शैक्षिक सामग्री आदान-प्रदानको लागि शिक्षण सहायक उपयोगी हुने रहेछ ।'

प्रभावकारी शिक्षणका लागि टेक्निकल हेल्प र शिक्षकको लोड घटाउन शिक्षण सहायक सहायकसिद्ध हुन्छ ढंगेलको बुझाइ छ । अधिकारी शिक्षण सहायक हाम्रा कलेजहरूमा जरुरत भएको औंल्याउँछन् । 'किन विद्यार्थीहरू विश्वविद्यालयमा यो माग गर्न सक्दैनन् ?' अधिकारी आश्चर्य व्यक्त गर्छन्, 'अमेरिकामा मास्टर्स क्लासमा बढीमा १५ जना विद्यार्थी र १ जना टिचिङ एसिसस्टेन्ट हुन्छ्, यहाँ कोठाभरि विद्यार्थी हुँदा पनि टिचिङ असिस्टेन्टको कन्सेप्ट छैन ।'

कान्तिपुर, २०६९ माघ ६ (19 January 2013)