Pages

Saturday, April 11, 2015

पुस्तक बार्ता: धर्म अधिकारी (कान्तिपुर कोसेली)

सञ्चारसम्बन्धी विभिन्न अनुसन्धान र क्रियाकलापमा सक्रिय अधिकारी 'इन्स्िटच्युट अफ एड्भान्स्ड कम्युनिकेसन एजुकेसन एन्ड रिसर्च, पोखरा विश्वविद्यालयका 'फ्याकल्टी मेम्बर' हुन् ।


अहिले कुन पुस्तक पढिरहनुभएको छ ?
आन्ड्रे मिरेस्निचेनकोको 'ह्युमन एज मिडिया: द इमनसिपेसन अफ अथरसिप' पढिरहेको छु । निल पोस्टम्यानको 'अम्युजिङ आवसेल्भ्स् टु डेथ' दोहोर्‍याइरहेको छु ।

कुन विधाका पुस्तक वढी रुचाउनुहुन्छ ?
सामान्यतया समाज विज्ञान र मानविकीका अनुसन्धान प्रतिवेदन र डकुमेन्टहरू सम्पादनका क्रममा खुबै पढ्छु । खासगरी मिडिया, पत्रकारिता र सञ्चारसम्बन्धी पुस्तक सामग्री बढी रुचिकर लाग्छ । 

छनोट कसरी गर्नुहुन्छ ?
कतिपय पुस्तक आफूलाई मन पर्ने लेखककै पढ्छु । 'पपुलर प्रेस रिभ्यु' भन्दा पियर-रिभ्युड जर्नलको सहारा लिन्छु, अलि विश्लेषणात्मक र अनुसन्धानमा आधारित पुस्तकका लागि । 

पुस्तक किन्न खोज्दाको कुनै रमाइलो अनुभव छ ?
थुप्रै छन् । एउटा- अमेरिकाको जोर्जिया साउदर्न विश्वविद्यालयमा पत्रकारिता पढाउँदाताकाको रोचक अनुभव छ । कक्षाका एउटा पाठ्यपुस्तक किन्न खोज्दा प्रकाशकले ७ वटा भिन्न भिन्न शीर्षकमा पुस्तक सित्तैमा भिडाएको थियो ।

कुन उमेरमा बढी पढ्नुभयो ?
२१-३१ वर्षको उमेरमा धेरै पढेंजस्तो लाग्थ्यो, तर होइन रहेछ । त्यो साहित्यमा लठ्ठ पर्‍या अनुभव मात्र हो । ३५ काटेपछि डकुमेन्ट सम्पादनलगायत कामको पढाइ झनै बढ्यो ।

मन परेका पुस्तक र लेखकहरू को-को हुन् ?
देवकोटाको 'मुनामदन', आनि छोइङको 'फूलको आँखामा', रने केप्पनको 'द वर्ड', मार्सल मक्लुहनको 'अन्डरस्टान्डिङ मिडिया', रिचर्ड नोइसडथको 'थिंकिङ इन टाइम', माइकल सडसनको 'गुड सिटिजन', जेरेड डाइमन्डको 'गन्स, जम्र्स एन्ड स्टिल', सोधी इफेन्दीको 'गड पासेस बाइ', सेन्ट एक्जुपेरीको 'द लिटल प्रिन्स', जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा' र बीपी कोइरालाको 'आत्मवृत्तान्त' ।

आवश्यकताभन्दा बढी/कम चर्चा पाएका पुस्तक कुनै छन् ?

कुनै बेला 'नीलो चोली' को चर्चा बढी थियो, आजकाल मार्केटिङको जमानामा भिन्नभिन्न विधामा त्यस्ता थुप्रै पुस्तक छन् । मेरो क्षेत्रमा कम चर्चा पाएका क्लासिक पुस्तकहरूमा कमल पी मल्लको 'इङ्लिस इन नेपाली एजुकेसन', भिक्टर प्रधानको 'नेपाली जीवनी' र रामराजा पौडेलको 'पत्रकारिता' । 

नपढी नहुने पुस्तक ?
मेरो क्षेत्रमा मार्सल मक्लुहनको 'अन्डरस्टान्डिङ मिडिया' र रने केप्पनको 'द वर्ड' ।

पुस्तकबिनाको जीवन कस्तो हुन्थ्यो होला ?
पुस्तक थुप्रै मिडियामध्ये एउटा हो । योबिना पनि जीवन चल्थ्यो नै, तर एउटा अनुपम भिजुअल सेन्सोरिअल (आँखा) अनुभूति र संग्रहित ज्ञानको ठूलो खाडल भोग्नुपर्ने हुन्थ्यो ।

तपाईंलाई कस्ता पुस्तक लेखियोस् जस्तो लाग्छ ?
नेपालमा वृत्तान्त, आरोप-प्रत्यारोप, रोमान्स आदिका पुस्तकको कमी छैन । ठोस प्रमाणमा आधारित विश्लेषणात्मक र खासगरी विभिन्न व्यवसायीलाई नितान्त काम लाग्ने 'सेल्फ हेल्प' पुस्तकहरू पनि लेखियोस् ।

कान्तिपुर कोसेली२०७१ चैत्र २८ (11 April 2015)